काठमाडौं - रुकुम पश्चिम घटना नियोजित रुपमा गरिएको सामूहिक हत्या भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको घटनामा वडाध्यक्षको नेतृत्वमा आक्रमण भएको र प्रहरीले अनुसन्धानमा लापरबाही गरेको समितिको निष्कर्ष छ ।

गत जेठ १० गते भएको सो घटनामा रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।

घटनाबारे छानबिन गर्न सडकदेखि सदनसम्म प्रदर्शन भयो । अन्तत २६ जेठ गते देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरियो । सो समितिले घटनास्थलमा गएर अनुसन्धान गरेको छ । समितिले मंगलबार अपराह्न सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउन लागेको समितिका एक सदस्यले जानकारी दिए ।

रुकुम घटना जातीय भेदभावमा आधारित नियोजित घटना भएको ती सदस्यले बताए । 'घटनामा वडाध्यक्ष र प्रहरीको गम्भिर लापरबाहि छ' सदस्यले भने । साथै, कानुन बमोजिम कडा कारबाहि गर्न सुझावसहित प्रतिवेदन तयार गरिएको बताए ।

अहिले घटनामा संलग्न भनिएका चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जना पूर्पक्षका लागि थुनामा छन् । उनीहरुमाथि आजिवन कैदको माग गरिएको छ ।

घटना के थियो ?

जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँनिवासी नवराज विक एथलेटिक्सका प्रतिभावान् खेलाडी थिए । कक्षा १२ उत्तीर्ण गरेका उनी खेल खेल्नकै लागि मेला–महोत्सवमा वारि–पारि कुदिरहन्थे । त्यही क्रममा रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीकी एक युवतीसँग तीन वर्षअघि चिनजान भयो । उनीहरूबीच प्रेम सम्बन्ध सुरु भयो।

खेलकै क्रममा रुकुम पुग्दा नवराजले लुकिछिपी प्रेमिकालाई पनि भेट्थे । प्रेमिका पनि नवराजको घर आउने गर्थिन् । दलित युवासँग प्रेम सम्बन्ध छुटाउन आफन्तले निकै प्रयास गरे । योबीचमा अभिभावकले छोरीलाई कुटपिट पनि गरेका थिए । तर, उनीहरू एक–अर्कालाई छाड्न तयार भएनन्।

प्रेमिकालाई लिन केही महिनाअघि पनि नवराज साथीहरू लिएर सोती पुगेका थिए । त्यतिवेला प्रहरीले हस्तक्षेप गरेको थियो । तर, दलितसँग प्रेम गरेको भनेर आफूमाथि परिवारबाटै अवहेलना भएको भन्दै प्रेमिकाले नवराजलाई सन्देश पठाएकी थिइन् ।

१८ जना साथीसहित भेरी तरेर नवराज शनिबार अपराह्न सोती पुगेका थिए । नवराजले छोरी लग्न थालेको थाहा पाएपछि प्रेमिकाकी आमाले गाउँमा हारगुहार गरिन् । प्रेमिकासम्म पुग्न नपाउँदै नवराजको समूह गाउँलेबाट घेरिएको थियो।

लगत्तै हातमा लाठी तथा घरेलु हतियार बोकेका गाउँलेले ढुंगाले हान्न थालेपछि उनीहरु भागे । उनीहरु जति भागे पनि गाउँलेहरू पछिपछि आइरहे । झण्डै चार किलोमिटर ठुलो भेरीको बगरैबगर भागे अन्त्यमा ज्यान बचाउन आत्तिएर खोलामा हामफाले।

सोती पुगेका १८ जनामध्ये ११ जना खोलामा हामफालेका थिए । पाँच जना सकुशल नदी तरे भने ६ जना खोलामै हराए । हराएका सबै मृत भेटिए ।