काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग २ छनाैट प्रतियोगिता अन्तर्गत सिरिजको अन्तिम खेलमा ओमानले अमेरिकालाई ९२ रनले पराजित गरेकाे छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७६ रन बनायो । उसका लागि कप्तान जिसान मक्सुद र अकिब इलियासले तेस्रो विकेटका लागि कीर्तिमानी २१६ रनको साझेदारी गरे । जुन अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा ओमानका खेलाडीले गरेको अहिलेसम्मकै ठूलो साझेदारी हो ।

यसअघि नेपालविरुद्ध यी दुई खेलाडीले एक सय ६७ रनको साझेदारी गरेका थिए जुन त्यसबेलाको उच्च साझेदारी थियो । ३१ रनमा दुई विकेटको अवस्थामा दुई खेलाडीले ओमानको पारीलाई सम्हालेका थिए । ओमानका ओपनर खवार अली १० रनमा आउट भएपछि ओमानले २१ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि जतिन्दर सिंह पनि नाै रनमा आउट हुँदा ओमानले ३१ रनमा दोस्रो विकेट खेर फालेकाे थियाे ।

त्यसपछि कप्तान जिसनले एक सय नौ रन बनाए । उनले एक सय नौ बलमा १० चौका र चार छक्का प्रहार गरे । यस्तै अकिबले पनि उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनले एक सय २३ बलमा ११ चौका र एक छक्काको मद्दतले एक सय पाँच रन बनाए । 

ओमानका लागि एक दिवसीय क्रिकेटमा लगातार दुई खेलमा दुई शतक बनाउने अकिब पहिलो खेलाडी बनेका छन् । यसका साथै उनी ओमानका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी पनि बनेका छन् ।

यस्तै जारी विश्वकप क्रिकेट लिग २ मा सर्वाधिक रन बनाउने खेलाडी पनि उनी नै हुन् । उनले अहिलेसम्म ६ सयभन्दा बढी रन बनाइसकेका छन् जसमा उनको दुई शतक र चार अर्धशतक रहेको छ ।  

ओमानको स्कोर दुई सय ४७ रन हुँदा ओमानले तेस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका नासिम खुसी मात्र पाँच रनमा आउट हुँदा ओमानले दुई सय ५५ रनमा पाँचौँ विकेट गुमायो । त्यसपछि जिसानपनि आउट हुँदा ओमानले दुई सय ५८ रनमा पाँचौ विकेट गुमायो । 

ओमानले बनाएको यो स्कोर उसको एक दिवसीय क्रिकेटमा बनाएको अहिलेसम्म कै ठूलो स्कोर हो । यसअघि ओमानले यहि प्रतियोगितामा नामिबियाविरुद्ध बनाएको दुई सय ७२ रन सर्वाधिक ठूलो स्कोर थियो । 

बलिङमा अमेरिकाका सौरभ नेत्रवाल्करले तीन तथा रुस्टी थेरोनले दुई विकेट लिए ।  जवाफमा अमेरिका ३९ ओभर एक बलमा एक सय ८४ नमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको अमेरीकाले तीन रनमा पहिलो विकेट गुमायो । उसका ओपनर मोनांक पटेलले खाता खोल्न सकेनन् । त्यसपछि क्रिजमा आएका स्टेभन टेलरपनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किएपछि अमेरीकाले तीन रनमा नै दोस्रो विकेट खेर फाल्यो । 

सुरुवातमा नै दबावमा आएको अमेरीकाले ६३ रन बनाउदा चार विकेट खेर फालेको थियो । उसका जेभियर मार्सल २३ रनमा आउट भए भने इयान होलाण्ड २८ रनमा पेभेलियन फर्किए । त्यसपछि अक्क्ष्य होमराजपनि सात रनमा आउट भएपछि अमेरीकाको पारी कमजोर बन्यो । 

छैटौँ विकेटका लागि निसर्ग पटेल र आरोन जोन्सबीच ७० रनको साझेदारी भएको थियो । तर पटेल ५२ रनमा आउट हुँदा अमेरीकाले एक सय ४९ रनमा छैटौँ विकेट खेर फाल्यो । त्यसपछि अमेरिकाले स्कोरबोर्डमा २१ रन थप्दा अरु दुई विकेट गुमायो । करिमा गोरे दुई रनमा आउट भए भने कामरोन स्टेमेन्सन चार रनमा पेभेलियन फर्किए । त्यसपछि रोस्टी थेरोन १२ रनमा आउट भए ।  बलिङतर्फ अकिब लियास र बिलाल खानले तीन तीन विकेट लिए ।