काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधि सभाका सांसद तथा उक्त समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले दिएको जानकारी अनुसार बैठक साँझ ४ बजेका लागि डाकिएको छ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको उनले जानकारी दिए।प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको छ।

संसदीय दलको बैठकअघि प्रचण्ड-नेपाल समूहले दिउँसो १२ बजे काठमाडौंको शान्तिवाटिकामा विजय जुलुस गर्दैछ। उक्त जुलुसमा केन्द्रीय तहका नेताहरू पनि सहभागी हुनेछन्। प्रतिनिधि सभा पुनर्स्थापना भएपछि आज चितवनमा हुने भनिएको आमसभालाई स्थगित गरेर उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन्।