काठमाडौं - चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० हजारबढी नाघेको छ । अहिलेसम्म ६४ हजार ४ सय ३७ जना संक्रमित भएका छन् । यससँगै मृत्यु हुनेको संख्या १ हजार ४ सय ८८ पुगेको छ । 

चीनले बिहीबार कोरोनाभाइरस प्रकोपबाट १२१ भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमध्ये ११६ जना हुबेइका मात्र रहेका छन् । हुबेइमा थप ४ हजार ८ सय २३ जनामा संक्रमण देखिएको छ, योसँगै हुबेईमा मात्र संक्रमित हुनेको संख्या ५१ हजार ९ सय ८६ पुगेको छ । 

कोरोना भाइरसको संक्रमण करिब २६ देशमा भेटिएको पुष्टि भएको छ । धेरै देशहरुले आफ्ना नागरिकलाई हुबेइबाट बाहिर निकालेका छन् । चीनबाहिर ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । 

चीनबाहिर अहिलेसम्म फिलिपिन्स, हङकङ र जापानमा एक÷एक जना गरी ३ जनाको मृत्यु भएको छ । चीनमा संक्रमितमध्ये ६ हजार ७ सय ६६ जना निको भएर घर फर्किएको चिनियाँ सञ्चारमाध्यामले जनाएका छन् । 

विश्व स्वास्थ्य संगठनले यस भाइरस विश्वका लागि ‘गम्भीर खतरा’ भएको चेतावनी दिएको छ । डब्ल्युएचओका प्रमुख टेड्रोस अदानोम गेब्रेयसिसले यो भाइरस कुनै आतंकवादी आक्रमणभन्दा बढी शक्तिशाली हुन सक्ने बताएका छन् ।  

यसैबीच भियतनामले राजधानी हनोईको उत्तरपश्चिममा १० हजार बासिन्दा रहेको क्षेत्र बन्द गर्ने आदेश दिएको छ, जुन चीनबाहिर ‘लकडाउन’ गरिएको पहिलो ठाउँ हो । 

उता उत्तर कोरियामा कोरोनाभाइरसको प्रकोपको सम्भावित प्रभावको बारेमा संयुक्त राज्य अमेरिकाले चिन्ता व्यक्त गरेको छ र भाइरसको प्रकोपलाई नियन्त्रण गर्न सहयोग गर्ने अमेरिकी विदेश विभागले बिहीबार बताएको छ । 

ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुडलाले बिहीबार कोरोना भाइरसका विषयमा चीनले अमेरिकालाई दिएको प्रतिक्रिया र अहिलेसम्म कुनै अमेरिकी स्वास्थ्य अधिकारीलाई सहयोगका लागि निमन्त्रणा नहुँदा ट्रम्प प्रशासन निराश भएको बताएका छन् ।