काठमाडौं - सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेरहद बढाएको हो । यसअघि अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष थियो । समितिमा विधेयकको दफावार छलफल भने जारी छ ।

हाल बहाल रहेका कर्मचारीको हकमा भने जन्ममितिका आधारमा क्रमशः अवकाशको उमेरहद कायम रहने गरी सहमति भएको छ । समिति सचिव सञ्जय दाहालका अनुसार अवकाशको उमेरहद, निवृत्तिभरणलगायतका व्यवस्थामा समितिले बिहीबार सहमति गरेको छ ।

समितिले पारित गरेको प्रतिवेदन नै सदनबाट पारित भएमा नयाँ नियुक्त हुने कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष र हालका कर्मचारीको हकमा जन्ममितिका आधारमा छ÷छ महिना कार्यकाल लम्बिने छ । 

सहमतिअनुसार २०१८ साल जन्ममिति भई सेवामा रहेका कर्मचारीको सेवा अवधि ५८ वर्ष ६ महिना हुनेछ । यस्तै २०१९ साल जन्ममिति भएका कर्मचारीको हकमा ५९ वर्ष कायम हुने छ । 

 गोरखापत्र दैनिकबाट