काठमाडौं - साबिक लिग उपविजेता लिभरपुलले शुक्रबारदेखि सुरु भएको प्रिमियर लिगमा लिभरपुलले विजयी सुरुवात गरेको हो। यसअघि प्रिसिजन टुरअन्तर्गतका मैत्रीपूर्ण खेलमा औसत प्रदर्शन गरेको लिभरपुल प्रिमियर लिगको नयाँ सिजनमा भने शानदार लयमा देखियो।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको स्पर्धामा बढुवा भएर आएको नर्विच सिटीलाई ४–१ ले पराजित गरेको हो। लिभरपुलको जितमा मोहम्मद सालह, भर्जिल भान डिजेक र डिभोक ओरिजीले गोल गरे। उसले गोलको सुरुवात भने आत्माघाती गोलमार्फत भएको थियो।

नर्विचका ग्रान्ट हेन्लीले सातौँ मिनेटमा नै आत्मघाती गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। डिभोक ओरिजीको क्रस बललाई नियन्त्रण गर्ने क्रममा उनले आत्मघाती गोल गरेका हुन्। यो सिजन प्रिमियर लिगमा गोलको सुरुवात आत्मघाती गोलबाट भएको हो।

त्यसपछि १९ औँ मिनेटमा मोहमद्ध सलाह, २८ औँ मिनेटमा भान डिजेक तथा ४२ औँ मिनेटमा ओरिजीले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता लियो। दोस्रो हाफमा समालिएको नर्विचले कुनै गोल खाएन भने एक गोल फर्काउन सफल भयो। उसका लागि ६४ औँ मिनेटमा तिमु पुकीले गोल गरे।

गत संस्करणमा एक अंकले उपाधिबाट टाढिएको लिभरपुल यो पटक कुनै गल्ती नगर्ने ध्याउनमा रहेको छ। उसले सुरुवातबाटै उपाधि अभियानमा कुनै पनि गल्ती नगर्ने जनाएको छ।