एजेन्सी - रेलमा आगलागी हुँदा पाकिस्तानमा कम्तिमा पनि २४ जनाको मृत्यु भएको छ । बिहीबार पञ्जाबको लियाकतपुर शहरमा रेलमा आगलागी भएको थियो । कराचीबाट रावलपिण्डी जाँदै गरेको रेलका ३ वटा डिब्बामा आगलागी हुँदा कम्तिमा पनि २४ को ज्यान गएको पाकिस्तानी समाचार माध्यमले जनाएका छन् ।

आगलागीबाट कैयौं घाइते भएको र घाइतेको उपचार भइरहेको समाचारमा जनाइएको छ । हाल रेलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ग्यास सिलिण्डर पड्किँदा रेलका डिब्बामा आगो लागेको थियो । बिहानपख यात्रुहरुले खाना पकाउने क्रममा सिलिण्डर पड्केको र रेलमा आगो लागेको हो । रेलका ३ वटा इकोनोमी क्लासका डिब्बामा आगो लागेको समाचार माध्यमले जनाएका छ्न् ।

डिब्बामा आगो लागेपछि कैयौं यात्रीले रेलबाट हाम फालेर ज्यान बचाएका थिए । पाकिस्तानी प्रधानमन्त्रीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री खानले घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न समेत अधिकारीहरुलाई निर्देशन दिएका छन् ।