काठमाडौं - सँसारभर पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि हुने भएको छ । सँसारमा सबैभन्दा बढी तेल उत्पादन गर्ने देश साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएपछि आधा उत्पादन घट्दा तेलको मूल्य वृद्धि हुने भएको हो ।

भोलि कच्चा तेलको मूल्य प्रति ब्यारले पाँच देखि सात डलर वृद्धि हुने अनुमान गरिएको छ । आर्थिक सम्बन्धि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भोलिको मूल्यको अनुमान लगाइसकेका छन् । मागभन्दा आपूर्ति कम हुनेवित्तिकै मूल्य वृद्धि निश्चित रुपमा हुने भएको हो ।

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको अबकैक र खुरैस गरी दुईवटा प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन हमला गरेपछि ठूलो क्षति पुगेको छ । घटनाको जिम्मेवारी हुथी विद्रोहीले लिएपनि अमेरिकाले इरानलाई आरोप लगाइसकेको छ । इरानले हुथीलाई सघाउ पुर्याएको आरोप लाग्दै आएको छ ।

क्षति पुगेका साउदीका तेल प्रशोधन केन्द्रहरुमा प्रतिदिन ७० लाख ब्यारेल तेल प्रशोधन गर्ने क्षमता रहेको छ । यो साउदी अरबको कुल उत्पादनको आधा हो । विश्वको कुल तेल उत्पादनमा साउदी अरबले १० प्रतिशत हिस्सा राखेको छ । आधा उत्पादन घट्नुले विश्व बजारमा ५ प्रतिशत उत्पादन घट्न पुगेको छ ।

यसअघि साउदी अरब र नाइजेरियाले बढी उत्पादन गरेको भन्दै तेल उत्पादन गर्ने देशहरुको समूह ओपेकले दबाब सृजना गर्दै आएका थिए । उनीहरुलाई तेलको उत्पादन घटाउन दबाब थियो । त्यसबारे ओपेकको बैठक बस्ने तय भएको थियो । साउदी उत्पादन घटेपछि तेल उत्पादन गर्ने देशहरुलाई भने लाभ पुगेको छ ।

कच्चा तेलको मूल्य बढेमा नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेशनले पनि तेलको मूल्य वृद्धि गर्ने निश्चित छ । यसले नेपालमा समेत मूल्यमा असर पर्नेछ । तेलको मूल्य प्रति ब्यारल ६० डलर भन्दा कम पर्दा तेल खरिदकर्ता देशहरुलाई राहत पुगेको थियो । अब मूल्य बढेपछि उपभोगकर्ता देशहरु प्रभावित हुनेछन् ।

नेपालमा नेपाल आयल निगमले हालैमात्र प्रति लिटर डिलेज र पेट्रोलमा दुई रुपैयाँका दरले मूल्य घटाएकोमा त्यो लामो समय नरहन सक्छ । दशैंको समयमा उपभोक्ताले तेलको मूल्य बढी तिर्नुपर्ने अवस्था आउनसक्छ ।